रौतहट । मधेश प्रदेशकै प्रमुख अन्न भण्डारका रूपमा परिचित रौतहट जिल्लामा यतिबेला किसानहरू धान रोपाइँको पूर्व तयारीमा व्यस्त छन् । जेठ महिनाको अन्त्यसँगै जिल्लाका अधिकांश क्षेत्रमा किसानहरूले धानको बीउ (बेर्ना) ब्याडमा तयार गरिसकेका छन् ।
अब उनीहरू खेत खनजोत गरी आकाशे वर्षा हुने प्रतीक्षामा रोपाइँ सुरु गर्ने तयारीमा छन् । मनसुन भित्रिने समय नजिकिँदै गर्दा ग्रामीण भेगका खेतबारीमा किसानहरूको चहलपहल बढेको छ ।
जिल्लाका गरुडा, गौर, चन्द्रपुर, कटहरिया, माधवनारायणलगायत स्थानीय तहका किसानहरूले मुख्य बर्खे धानका लागि जेठको पहिलो र दोस्रो साता नै ब्याडमा बीउ राखेका थिए ।
कृषि ज्ञान केन्द्र रौतहटका अनुसार जिल्लामा किसानहरूले स्वर्ण, सावा मन्सुली र राधा ४ लगायतका उन्नत तथा स्थानीय जातका धानको बीउ प्रयोग गरेका छन् ।
हाल बीउ रोप्नका लागि उपयुक्त बेर्ना तयार भइसकेको छ । किसानहरू खेत सम्याउने, पानीको जोहो गर्ने र रोपाइँ सुरु गर्ने तयारीमा छन् । तर पर्याप्त सिँचाइ सुविधा नभएका क्षेत्रका किसानका लागि आकाशे वर्षा नै प्रमुख आधार बनेको छ ।
रौतहटको उत्तरी क्षेत्र (चन्द्रपुर आसपास) मा बागमती सिँचाइ आयोजनाको नहर तथा केही मात्रामा भूमिगत सिँचाइ (डिप बोरिङ) को सुविधा भएपनि मध्य र दक्षिणी क्षेत्रका अधिकांश किसानहरू अझै पनि आकाशे पानीमै निर्भर छन् ।
माधवनारायण नगरपालिकाका किसानहरूका अनुसार बोरिङ वा पम्पसेटमार्फत खेतमा पानी हाल्दा डिजेल र बिजुलीको लागत अत्यधिक हुने भएकाले ठूलो क्षेत्रफलमा रोपाइँ गर्न कठिनाइ भइरहेको छ ।
“ब्याडमा बेर्ना तयार भइसकेको छ, तर पर्याप्त वर्षा नभएसम्म खेत हिल्याउन सकिएको छैन,” स्थानीय किसान कृष्ण साहले बताए । किसानहरू दैनिकजसो आकाशतर्फ नजर लगाउँदै मनसुन सक्रिय हुने र वर्षा सुरु हुने आशामा छन् ।
आकाशे पानीको अभावसँगै रौतहटका किसानहरू यस वर्ष पनि रासायनिक मल (डीएपी र युरिया) को अभाव र रोपाइँको समयमा कृषि मजदुरको कमीबाट प्रभावित हुने चिन्तामा छन् । सरकारी अनुदानको मल समयमै उपलब्ध नहुँदा उनीहरू सीमावर्ती बजारबाट महँगो मूल्यमा कम गुणस्तरको मल खरिद गर्न बाध्य हुने गरेको गुनासो छ ।
यस्तै, वैदेशिक रोजगारीका कारण गाउँमा युवा जनशक्ति घटेकाले रोपाइँका लागि मजदुर पाउन समेत कठिन भइरहेको छ । रौतहटमा कुल खेतीयोग्य जमिनमध्ये करिब ३८ हजारदेखि ४० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।
गत वर्ष ढिलो मनसुन र खडेरीका कारण उत्पादनमा गिरावट आएको थियो । यस वर्ष मौसम अनुकूल भई पर्याप्त वर्षा भएमा धान उत्पादन राम्रो हुने र देशको खाद्य सुरक्षामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।






