रौतहट । रौतहटको बौधीमाई नगरपालिका ६ मा रहेको बलवान इँटा उद्योग नजिकको पानी भरिएको खाडलमा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सोमबार दिउँसो करिब १२ः४५ बजे स्थानीय दीपेन्द्र राय यादवका छोरा सुप्रित यादव खाडलमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाको सूचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो ।
उक्त स्थान प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ । पछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर विश्वनाथ यादवको नेतृत्वमा सोको टोली घटनास्थल पुगेको थियो ।
टोलीले मुचुल्का उठाउने तथा घटनाको विस्तृत अनुसन्धान गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालक कसरी खाडलमा पुगे र डुबेर मृत्यु हुन पुग्यो भन्ने विषयमा अनुसन्धान जारी छ ।




