रौतहट । तराई–मधेशमा गर्मीको प्रकोप दिनप्रतिदिन बढ्दै गइरहेको छ । यस्तो अवस्थामा रौतहटको फतुवा विजयपुर नगरपालिका ३ स्थित आधारभूत विद्यालय मेवाका सयौं विद्यार्थी भने पंखाविहीन कक्षा कोठामा अध्ययन गर्न बाध्य छन् ।
विद्यार्थीको अनुपातमा शिक्षकको संख्या न्यून भएको कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको छ । अत्यधिक गर्मीका बीच कक्षाकोठामा बस्न कठिन भए पनि विद्यार्थीहरू दैनिक रूपमा त्यही वातावरणमा पढ्न विवश छन् ।
विद्यालयमा बालशिक्षादेखि कक्षा ८ सम्म अध्ययनरत ५४२ विद्यार्थी छन् । तर, विद्यालयका १२ वटै कक्षा कोठामा पंखाको व्यवस्था छैन । चार वर्षअघि निर्माण सम्पन्न भएको भवनमा अहिलेसम्म विद्युत् वायरिङ समेत नगरिएकाले पंखा जडान गर्न नसकिएको विद्यालय प्रशासनले जनाएको छ ।
स्थानीय समाजसेवी वीरेन्द्र यादवका अनुसार गर्मीका कारण विद्यार्थी मात्र होइन, शिक्षक तथा कर्मचारीसमेत असहज वातावरणमा काम गर्न बाध्य छन् । चर्को तापक्रमका कारण कक्षा कोठाभित्र लामो समय बस्न समस्या हुने गरेको उनले बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक रामजनम महतोका अनुसार भवन निर्माणकै क्रममा विद्युत् वायरिङ नगरिएकाले अहिले समस्या उत्पन्न भएको हो । उनले विद्यालयमा सरुवा भएर आएपछि वायरिङका लागि लागत अनुमान गराउँदा करिब १ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने देखिएको बताएका छन् ।
“विद्यालयको आफ्नै आम्दानीको स्रोत छैन। बजेट अभावका कारण वायरिङको काम अगाडि बढाउन सकेका छैनौं,” प्रधानाध्यापक महतोले भनेका छन् । विद्यालयमा गर्मी र पूर्वाधार अभाव मात्र समस्या होइन, शिक्षकको चरम कमी पनि उत्तिकै गम्भीर देखिएको छ ।
५४२ विद्यार्थी अध्ययनरत विद्यालयमा प्राथमिक तहका चार शिक्षक, एक निम्न माध्यमिक तहका अनुदान शिक्षक, एक बालविकास सहजकर्ता र एक कार्यालय सहयोगी मात्र कार्यरत छन् ।
यस आधारमा एक शिक्षकले औसतमा ११० भन्दा बढी विद्यार्थीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ । सरकारी मापदण्डअनुसार मधेश प्रदेशमा ४० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था भएपनि विद्यालयमा आवश्यक दरबन्दीको ठूलो अभाव रहेको देखिन्छ ।
शिक्षक कम हुँदा नियमित पठनपाठन, गृहकार्यको मूल्यांकन, विद्यार्थीको व्यक्तिगत सिकाइ अवस्थाको अनुगमन तथा कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग गर्न कठिन भइरहेको प्रधानाध्यापक महतोको भनाइ छ । कक्षाकोठा व्यवस्थापनदेखि विषयगत शिक्षणसम्ममा प्रत्यक्ष असर परेको उनी बताउँछन् ।
प्रधानाध्यापक महतोले शिक्षक दरबन्दी थप, निजी स्रोतका शिक्षक व्यवस्थापन, भवनमा वायरिङ तथा अन्य पूर्वाधार सुधारका लागि पटक–पटक नगरपालिकालाई आग्रह गरिएको भएपनि हालसम्म कुनै प्रभावकारी पहल नभएको गुनासो गरेका छन् ।
“विद्यालयको वास्तविक आवश्यकता र समस्याबारे नगरपालिकालाई बारम्बार जानकारी गराएका छौं । तर समाधानका लागि ठोस कदम चालिएको देखिएको छैन,” उनले गुनासो गरेका छन् ।
गर्मीको चर्को मौसममा विद्यार्थीको स्वास्थ्य, सिकाइ उपलब्धि र समग्र शैक्षिक वातावरण प्रभावित भइरहेको अवस्थामा विद्यालयका अभिभावक तथा स्थानीयवासीले तत्काल आवश्यक बजेट व्यवस्थापन गरी वायरिङ, पंखा जडान र शिक्षक थप गर्न नगरपालिकासँग माग गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्बेया खातुनसँग सम्पर्क गर्ने प्रयास गरिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन ।




