बारा । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका ३ जुगुवा टोल निवासी ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।
प्रहरीका अनुसार सोमबार मध्यरातपछि चौधरी घरको छतमा पिसाब फेर्न गएका बेला अचानक लडेर गम्भीर घाइते भएका थिए । राति करिब १:३० बजे भएको उक्त घटनामा चौधरीको टाउको र मुखमा गम्भीर चोट लागेको थियो ।
उनलाई तत्काल उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
तर उपचारकै क्रममा मंगलबार बिहान करिब ४:४५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट असई कलम नारायण यादवको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ भने घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।




