सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका ५ स्थित रामनगर कोदरकट्टी क्षेत्र, नेपाल–भारत सीमा नजिकै प्रहरी टोलीमाथि आक्रमण भएको छ । दशगजा क्षेत्रनजिक सोमबार बिहान करिब ४ बजे तस्करी नियन्त्रणका लागि पुगेको प्रहरी टोलीमाथि समूहगत आक्रमण भएको हो ।
नेपाल–भारत सीमास्तम्भ नम्बर २४३ आसपास कपडा तस्करी भइरहेको सूचनाका आधारमा रामनगर कोदरकट्टी प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो । सोही क्रममा तस्करीमा संलग्न समूहले प्रहरीमाथि आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ ।
घटनामा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादवमाथि कुटपिट भएको बताइएको छ । प्रारम्भिक विवरणअनुसार तस्कर समूहले भारतीय नागरिकसमेतको सहयोगमा आक्रमण गरेको आशंका गरिएको छ ।
आक्रमणपछि सीमावर्ती क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । स्थानीय बासिन्दाका अनुसार घटनापछि आवागमन समेत प्रभावित बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले प्रहरीमाथि कुटपिट भएको पुष्टि गरेका छन् । उनका अनुसार घटनाको वास्तविक कारण, संलग्न व्यक्ति तथा परिस्थितिबारे अनुसन्धान जारी छ ।
प्रहरीले घटनामा संलग्नको पहिचान र नियन्त्रणका लागि थप टोली परिचालन गरिएको जनाएको छ । साथै कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।




