रौतहट । रौतहटको गढीमाई नगरपालिका २ समनपुर बजारमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक वृद्धको मृत्यु भएको छ ।
बिहिबार दिउँसो करिब १२:४५ बजे गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गढीमाई नगरपालिका ४ सुन्दरपुर निवासी ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए । उनको ढाड तथा अण्डकोषमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याई प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो ।
तर वीरगञ्ज लैजाने क्रममा दिउँसो करिब १ः४५ बजे बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले ट्र्याक्टर चालक गरुडा नगरपालिका ५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको नदेखिएको र उनीसँग वैध सवारी चालक अनुमति पत्र रहेको छ । दुर्घटनापछि मोटरसाइकल चालक भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको छ । दुर्घटनामा संलग्न ट्र्याक्टर तथा मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






