बारा । बारामा २० वर्षअघि जग्गा विवादका कारण एक पुरुषको घाँटी रेटी हत्या गरेर फरार भएका अभियुक्तलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०६२ साल असोज ३ गते भएको हत्याकाण्डका मुख्य अभियुक्त बाराको प्रसौनी गाउँपालिका १ बस्ने दुखी राउत बरैका ४८ वर्षीय छोरा श्यामबाबु प्रसाद चौरसियालाई जेल चलान गरिएको हो ।
घटना विवरण अनुसार, २०६२ असोज ३ गते बिहान अन्दाजी १० बजेको समयमा कलैया उपमहानगरपालिका १८ मोतिसर टोल बस्ने ४० वर्षीय शीतलप्रसाद चौरसियाको विभत्स हत्या भएको थियो ।
नारायणी उप–क्षेत्रीय अस्पताल वीरगन्जबाट आफ्नो ड्युटी सकेर घर फर्किने क्रममा शीतल प्रसादलाई जग्गा सम्बन्धी पुरानो रिसइबीका कारण प्रसौनी स्थित दुधौरा खोलाको बगरमा घेरी घाँटी काटेर हत्या गरिएको थियो ।
उक्त घटना लगत्तै फरार रहेका चौरसियालाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले यही जेठ १३ गते पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान पूरा गरी बारा जिल्ला अदालतमा पेस गरिएको थियो ।
अदालतको असार ५ गतेको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।






