सर्लाही । सर्लाहीमा भैँसीगोठमा सुतिरहेका एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बसबरिया गाउँपालिका २ मानपुरका ५२ वर्षीय होशनारायण राय यादवको शनिबार मध्यराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार यादव आफ्नै भैंसी गोठमा सुतिरहेका बेला राति करिब १२ बजे अपरिचित समूहले उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो । आक्रमणपछि गम्भीर घाइते भएका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल लैजाने प्रयास गरेका थिए ।
तर, बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टम पश्चात परिवारजनलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ । घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीका अनुसार घटनाबारे अनुसन्धान अघि बढाइएको छ र दोषीको खोजी कार्य तीव्र पारिएको छ । मृतकका जेठा छोरा सुवासकुमारले बुवासँग कसैको कुनै विवाद नरहेको बताए ।






