रौतहट । कानुनी प्रावधानअनुसार प्रत्येक आर्थिक वर्षको असार १० गतेभित्र नगरसभा सम्पन्न गर्नुपर्ने व्यवस्था अनुरूप रौतहटको गढीमाई नगरपालिकाले आफ्नो १३ औँ नगरसभा सम्पन्न गरेको छ ।
नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट सार्वजनिक गरिएको छ । नगर प्रमुख श्यामप्रसाद यादवले प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
नगर प्रमुख यादवका अनुसार नगरसभाले स्थानीय तहका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, विकास योजनाको कार्यान्वयनलाई तीव्रता दिने तथा समृद्धि हासिल गर्ने विषयमा विस्तृत छलफल गरी विभिन्न निर्णय गरेको छ ।
साथै चालु आर्थिक वर्षका लागि विनियोजित योजनाहरूको प्रगति तथा कार्यान्वयन अवस्थाको समीक्षा पनि गरिएको छ । नगरसभाको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरेका थिए ।
उनले गढीमाई नगरपालिकामा प्रदेश सरकारले महत्वपूर्ण विकास बजेट समेटेको उल्लेख गर्दै आफ्नो गृह नगर भएकाले यहाँका विकासका लागि ठोस योजनाहरू कार्यान्वयनमा ल्याइने बताए ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । तर नगरसभामा बोल्ने अवसर नपाएको भन्दै वडा नम्बर १ का वडाध्यक्ष रामपुकार यादवले असन्तुष्टि जनाएका छन् । उनले नगरसभा औचित्यहीन जस्तो भएको भन्दै आक्रोश व्यक्त गरे थिए ।




