रौतहट । भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लाको सुगौली थाना क्षेत्रको बेलवतिया गाउँमा नक्कली गहनाको विवादले विवाह समारोह नै भाँडिएको छ ।
सिन्दूरदान हुनै लाग्दा बेहुलीलाई चढाइएको गहना नक्कली भएको आरोप लागेपछि दुवै पक्षबीच विवाद चर्किएको थियो । अन्तत: विवाह रोकिएसँगै नेपालका बारा जिल्लाबाट पुगेको जन्ती टोली बेहुली बिनै फर्किएको हो ।
बारा जिल्लाको परसौतीपुर गाउँका युगल सहनीका छोरा सुभाषकुमार सहनीको जन्ती बेलवतिया पुगेको थियो । दुवै परिवारको सहमतिमा विवाहका सम्पूर्ण तयारी पूरा भएका थिए ।
स्वागत, जयमाला लगायतका अधिकांश वैवाहिक कार्यक्रम सम्पन्न भइसकेका थिए भने अन्तिम चरणको सिन्दूर दानको तयारी भइरहेको थियो ।
यही क्रममा बेहुलीलाई उपहार स्वरूप चढाइएका गहनाको परीक्षण गर्दा ती नक्कली भएको दाबी गरियो । उक्त विषय सार्वजनिक भए पछि विवाहस्थलमा तनाव सिर्जना भएको र दुवै पक्षबीच चर्काचर्की सुरु भएको बताइएको छ ।
बेहुलीका पिता लक्ष्मीनारायण सहनीले केटा पक्षको मागअनुसार नगद तथा अन्य उपहारहरू पहिल्यै उपलब्ध गराइसकेको अवस्थामा नक्कली गहना चढाइएको जानकारी पाएपछि विवाह अघि बढाउन अस्वीकार गरेको बताएका छन् ।
उनका अनुसार यस्तो व्यवहार गर्ने परिवारमा छोरीको भविष्य सुरक्षित नहुने निष्कर्षसहित विवाह रोकिएको हो । विवाद बढ्दै जाँदा बेहुली पक्षले विवाहका लागि गरिएको खानपान, सजावट तथा अन्य व्यवस्थापनमा भएको खर्चको क्षतिपूर्ति माग गरेको थियो ।
रातभर स्थानीय स्तरमा छलफल, पञ्चायती र सहमतिको प्रयास भएपनि कुनै निष्कर्ष ननिस्किए पछि विवाह स्थगित मात्रै होइन, पूर्ण रूपमा भंग भएको बताइएको छ ।
घटनापछि स्थानीय प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । प्रहरी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूको उपस्थितिमा दुवै पक्षबीच पटक–पटक वार्ता भएपनि विवाद समाधान हुन सकेन ।
अन्ततः विवाह सम्पन्न हुन नसकेपछि नेपालबाट पुगेको जन्ती टोली निराश बनेर घर फर्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो घटनाले दुवै परिवारमा मात्र होइन, स्थानीय क्षेत्रमा समेत व्यापक चर्चा पाएको छ ।






