रौतहट । चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब २१ करोड ८० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औँ नगरसभामा उपप्रमुख जयमाला चौधरीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तावित बजेटअनुसार चालु खर्चतर्फ ८५ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत तथा विकास निर्माणका कार्यक्रमका लागि ३५ करोड १३ लाख रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले वार्षिक नगर विकास योजना पुस्तिकामार्फत नीति, योजना तथा कार्यक्रमगत बजेटको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले ३० करोड ४० लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखेको छ ।
त्यसैगरी संघीय सरकारबाट राजस्व बाँडफाँड, वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत ७६ करोड ९२ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट विभिन्न अनुदान तथा सवारी करबापत ४ करोड ४३ लाख ४८ हजार ६ सय ४० रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । यस्तै मालपोत तथा रजिस्ट्रेसन शुल्कबाट १० करोड ४ लाख ८ हजार ३ सय ६० रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
नगरपालिकाका अनुसार गैरसरकारी संस्था छायाँ नेपाल लगायत अन्य संस्थाबाट ५ करोड ३५ लाख ५० हजार ६ सय ९६ रुपैयाँ सहयोग प्राप्त हुने अनुमान गरिएको छ । साथै गत आर्थिक वर्षको सञ्चित कोषबाट १ करोड रुपैयाँ बजेटमा समावेश गरिएको छ ।
नगरपालिकाले आगामी वर्षको बजेटमार्फत पूर्वाधार विकास, सेवा प्रवाहको सुधार तथा स्थानीय आवश्यकतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ ।






