सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ४७ करोड ९७ लाख ९९ हजार ३७० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १६ औँ अधिवेशनमा नगर उपप्रमुख कल्पनामाया पाख्रिनले उक्त बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट हालका जनप्रतिनिधिहरूको कार्यकालको अन्तिम बजेट समेत हो ।
नगरपालिकाले १७ वटै वडाका लागि ९७ लाख रुपैयाँदेखि १ करोड ४५ लाख रुपैयाँसम्म बजेट विनियोजन गरेको जनाएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, आर्थिक विकास तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलले जानकारी दिए ।
नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेट स्थानीय आवश्यकता, सेवा प्रवाहको प्रभावकारिता तथा विकास निर्माणका कार्यक्रमलाई केन्द्रमा राखेर तयार गरिएको हो ।
यसैबीच, सर्लाहीका अधिकांश स्थानीय तहहरू आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारीमा जुटेका छन् । संवैधानिक व्यवस्थाअनुसार सबै स्थानीय तहले असार १० गतेभित्र गाउँसभा तथा नगरसभामा नीति तथा कार्यक्रमसहित बजेट पेश गरिसक्नुपर्ने व्यवस्था छ ।






