पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । यसै क्रममा सशस्त्र प्रहरीले करिब रु १० लाख २३ हजार बराबरको अवैध खयरको काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण, पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गोविन्दबहादुर खातीले कमाण्ड सम्हालेपछि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि निगरानी र कारबाही थप प्रभावकारी बनाइएको छ ।
विशेष सूचनाका आधारमा बिओपी बलिनगरबाट सशस्त्र प्रहरी निरीक्षक हरिकृष्ण गिरीको नेतृत्वमा १३ सदस्यीय गस्ती टोली परिचालन गरिएको थियो । उक्त टोलीले बुधबार राति करिब १० बजे सुस्ता गाउँपालिका ५ धनैया स्थित नारायणी नदीको किनारमा लुकाइछिपाइ राखिएको अवस्थामा ६६.०५ क्युविक फिट (४६ थान) अवैध खयरको काठ बरामद गरेको हो ।
बरामद गरिएको काठ आवश्यक कानुनी कारबाहीका लागि बिहिबार सव-डिभिजन वन कार्यालय, प्रतापपुर, सुस्ता ९नवलपरासी० मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार एसपी खातीको नेतृत्वमा जिल्लामा तस्करी तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध सशस्त्र प्रहरीको निगरानी र कारबाही थप प्रभावकारी बन्दै गएको स्थानीयबासीहरू बताउँछन् ।






