सिरहा । पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान सामान्य वर्षा हुँदा पनि जलमग्न बन्ने पुरानै नियतिबाट यसपटक पनि मुक्त हुन सकेको छैन । हालैको वर्षापछि लहान नगरपालिका १ अन्तर्गत पूर्व-पश्चिम राजमार्गदेखि पशुपति माध्यमिक विद्यालय जाने मुख्य सडक पूर्ण रूपमा डुबानमा परेको छ ।
उपयुक्त ढल र नालाको व्यवस्थापन नहुँदा सामान्य पानी पर्नेबित्तिकै सडक पोखरीमा परिणत हुने समस्याले यस क्षेत्रको जनजीवन फेरि एकपटक सास्तीपूर्ण बनेको छ । सडकमा हिलो र पानी भरिएपछि स्थानीय पैदलयात्री, विद्यालय जाने बालबालिका र सवारी चालकहरूलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।
जलमग्न सडकका कारण कतिपय स्थानमा रहेका ठूला खाल्डाखुल्डीहरू नदेखिँदा सवारी साधनहरू दुर्घटनामा पर्ने जोखिम उच्च बनेको छ भने पैदल हिँड्नेहरू कुन बेला खाल्डोमा परिने हो भन्ने त्रासमा छन् ।
लहान जस्तो ठूलो व्यापारिक सहरको मुख्य सडक नै पानीले भरिनु दु:खद् विषय भएको र बर्सेनि यो समस्या दोहोरिए पनि यसको दीर्घकालीन समाधान हुन नसकेको स्थानीयको गुनासो छ ।
जलमग्नताका कारण स्थानीय व्यापार व्यवसाय समेत नराम्ररी प्रभावित भएको छ । बजार क्षेत्रमा सामान ढुवानी गर्न र दैनिक उपभोग्य वस्तुहरू ल्याउन कठिनाइ भएपछि व्यवसायीहरू मर्कामा परेका छन् ।
बजारमा इन्धन र ग्यासको अभावका कारण पहिले नै व्यवसाय सञ्चालन गर्न कठिन भइरहेका बेला सडकको यो हविगतले गर्दा आवश्यक सामाग्री ल्याउनसमेत निकै दुःख पाइने गरेको व्यवसायीहरूको अनुभव छ ।
बजार क्षेत्र जलमग्न हुनुको मुख्य कारण लामो समयदेखि नालाहरूको नियमित सरसफाइ नहुनु हो । नाला सफा नहुँदा पानीको निकास हुन पाउँदैन र नालाको फोहोर पानी सडकमा निस्किँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिने र महामारीको जोखिम समेत बढ्ने गरेको छ ।
यता लहान नगरपालिकाले पनि बजार क्षेत्रका नालाहरू साँघुरा भएकाले वर्षाको पानी निकास हुन नसकेको स्वीकार गरेको छ । बजारको तीव्र विस्तार भएपनि पुराना नालाहरू साँघुरा भएका कारण पानीको चाप बढ्नेबित्तिकै त्यो सडकमा आउने गरेको र केही घण्टापछि पानी आफैं घट्ने नगर नेतृत्वको भनाइ छ ।
यद्यपि, स्थानीयवासीले भने यो वर्षेनी दोहोरिने समस्या भएकाले सम्बन्धित निकायले टालटुले काम गर्नुको साटो दीर्घकालीन योजना बनाएर नाला विस्तार र ढल व्यवस्थापनको काम प्रभावकारी रूपमा गर्नुपर्ने माग राख्दै आएका छन् ।




