काठमाडौं । नेपालमा काँधको जोर्नी प्रत्यारोपण (शोल्डर जोइन्ट रिप्लेसमेन्ट) क्षेत्रमा अर्को महत्वपूर्ण सफलता हासिल भएको छ । पाटन अस्पतालका वरिष्ठ हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ प्रा. डा. नवीस मान सिंह प्रधानको नेतृत्वमा चिकित्सकहरूको टोलीले ६५ वर्षीय एक बिरामीको जटिल काँध प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
ललितपुरको लुभु निवासी ६५ वर्षीय काली प्रसाद श्रेष्ठ घरमा लडेर काँधको हड्डी भाँचिएपछि उपचारका लागि पाटन अस्पताल पुगेका थिए । उनी लामो समयदेखि ओस्टियोआर्थ्राइटिसबाट पनि पीडित थिए । दुर्घटनाका क्रममा काँध चलाउन सहयोग गर्ने ‘रोटेटर कफ’ मांसपेशीमा समेत गम्भीर क्षति पुगेपछि सामान्य उपचारले समस्या समाधान हुन नसक्ने अवस्था बनेको चिकित्सकहरूले बताएका छन् ।

यसपछि प्रा. डा. प्रधानको नेतृत्वमा ‘रिभर्स टोटल शोल्डर रिप्लेसमेन्ट (रिभर्स टोटल शोल्डर आर्थ्रोप्लास्टी)’ प्रविधिबाट काँधको जोर्नी प्रत्यारोपण गरिएको थियो । नेपालमा यो प्रकारको शल्यक्रिया अत्यन्तै कम हुने भएकाले यसलाई हाडजोर्नी उपचारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार देखिएको अस्पतालले जनाएको छ । हाल उनलाई चिकित्सकीय निगरानीसँगै नियमित फिजियोथेरापी तथा पुनर्स्थापना उपचार प्रदान भइरहेको छ ।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा. डा. नवीस मान सिंह प्रधानका अनुसार काँधको जोर्नी प्रत्यारोपणमा शल्यक्रिया सफल हुनु मात्र पर्याप्त हुँदैन, त्यसपछिको पुनर्स्थापना प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
उनले भने, “यस्ता जटिल बिरामीमा शल्यक्रियापछि नियमित फिजियोथेरापी र पुनर्स्थापना उपचार अत्यावश्यक हुन्छ । यसले बिरामीलाई पुन: सामान्य जीवनयापनमा फर्किन महत्वपूर्ण सहयोग पुर्याउँछ ।” शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएपछि बिरामी काली प्रसाद श्रेष्ठले आफूले नयाँ जीवन पाएको अनुभूति भएको बताएका छन् ।
उनले भने, “लडेर काँधको हड्डी भाँचिएपछि अब हात चलाउन सकिँदैन कि भन्ने चिन्ता थियो । तर चिकित्सकहरूको सफल उपचारपछि अहिले दुखाइ लगभग हटेको छ र हात पनि चल्न थालेको छ । नेपालमै यस्तो उपचार पाउनु मेरा लागि ठूलो सौभाग्य हो ।”
चिकित्सकहरूका अनुसार नेपालमा जटिल हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक हुन थालेसँगै बिरामीले विदेश जानुपर्ने बाध्यता क्रमश: घट्दै गएको छ । अत्याधुनिक प्रविधिको प्रयोगसँगै स्वदेशमै गुणस्तरीय उपचार सेवा उपलब्ध हुन थालेको उनीहरूको भनाइ छ ।
प्रा. डा. नवीस मान सिंह प्रधानले पाटन अस्पतालसँगै चाबहिलस्थित ॐ अस्पतालमा पनि लामो समयदेखि घुँडा (टोटल नी रिप्लेसमेन्ट) तथा हिप (टोटल हिप रिप्लेसमेन्ट) प्रत्यारोपण शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेका छन् ।






