सर्लाही । सर्लाहीमा विषालु सर्पले डसेर एक आठ वर्षीय बालकको मृत्यु भएको छ । लालबन्दी नगरपालिका ११ हीरापुर निवासी मायुस ठाकुरको समयमै उपचार नपाउँदा ज्यान गएको हो ।
प्राप्त जानकारी अनुसार बालकलाई आमासँगै सुतेका बेला राति शौचालय जाने क्रममा विषालु सर्पले डसेको थियो । सर्पले डसेपछि पनि अवस्था सामान्य ठानेर उनी पुनः सुत्न गएका थिए ।
केही समयपछि स्वास्थ्य अवस्था बिग्रिएपछि परिवारले अस्पताल लैजानुको सट्टा गाउँकै धामी झाँक्री कहाँ झारफुकका लागि पुर्याएका थिए । झारफुककै क्रममा बालकको मृत्यु भएपछि मात्र उनलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो ।
उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवका अनुसार बालक अस्पताल आइपुग्दासम्म उनको मृत्यु भइसकेको थियो । प्रारम्भिक अनुमानअनुसार उनलाई करेत प्रजातिको विषालु सर्पले डसेको हुन सक्ने बताइएको छ ।
गर्मी बढेसँगै सर्लाहीमा विषालु सर्पको जोखिम पनि बढ्दै गएको छ । नवलपुर सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक पाँचदेखि छ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । हाल सर्लाहीमा नवलपुर सर्पदंश उपचार केन्द्र र प्रादेशिक अस्पताल मलङ्गवामा सर्पदंशका बिरामीको उपचार हुँदै आएको छ ।
यस्तै, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले नगर अस्पताल बयलवासमा पनि निकट भविष्यमा सर्पदंश उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । त्यसका लागि आवश्यक उपकरण व्यवस्थापनको काम अघि बढाइएको उनले बताए ।
चिकित्सकहरूले सर्पले डसेपछि धामी झाँक्री वा झारफुकको भर नपरी तत्काल नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्याउन आग्रह गरेका छन् । साथै वर्षायाम र गर्मीयाममा सर्पको जोखिम बढ्ने भएकाले अन्धकारमा हिँड्दा टर्च प्रयोग गर्न, सुत्दा झुल लगाउन, खेतबारीमा जाँदा बुट लगाउन तथा घर वरपर नियमित सरसफाइ गर्न पनि सुझाव दिएका छन् ।




