काठमाडौं । मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला, लेखापाल प्रेमप्रसाद पौडेल, इन्जिनियर हिक्मत राव र सबइन्जिनियर बमबहादुर रावलविरुद्ध मुद्दा दर्ता गरेको हो ।
यस्तै छविसपाथिभेरा ६ का वडाध्यक्ष मोहनलाल विक, बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि मुद्दा दर्ता भएको हो ।
छविसपाथिभेरा गाउँपालिका ६ स्थित बाँठपाली देवताको मन्दिर निर्माढाका लागि ५६ लाख ७ हजार ८९७ रुपैया ८० पैसाको लागत अनुमान गरिएको थियो । त्यसमध्ये ४५ लाख रुपैयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको थियो ।
त्यस्तै, उपभोक्ता सहभागिताबाट ११ लाख सात हजार ८९७ रुपैयाँ ८० प्रयास र कन्टिनजेन्सीतर्फ दुई लाख २५ हजार रुपैयाँ रहेको थियो । उनीहरूले २२ लाख एक हजार ६६५ रुपैयाँ बीगो मागदाबी माग्दै आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।






