नेपालगञ्ज । बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाइको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका ४ गोहुवाका २० वर्षीय विनोद चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनले आइतबार साँझ आफ्ना २६ वर्षीय दाजु मनोज चौधरीको हत्या गरी शव नहरमा फालेर फरार भएका थिए । घटनापछि फरार रहेका विनोदलाई प्रहरीले सोमबार कोहलपुर नगरपालिका १५ चन्हवाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा कुटपिटका कारण मनोजको मृत्यु भएको देखिएको छ । घटनाको वास्तविक कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक मनोज चौधरीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।






