काठमाडौं । नेपाल प्रहरीले बारा, पर्सा र सिराहाका विभिन्न स्थानबाट २४ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारबाट ३६० ग्राम गाँजासहित स्थानीय ५० वर्षीया बच्ची साह पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी, पर्साको बिन्दवासिनी गाउँपालिका ४ अमरपट्टीबाट करिब १० किलोग्राम गाँजासहित बहुदरमाई नगरपालिका ८ निवासी ५८ वर्षीय मनोहर सहनी पक्राउ परेका छन् । प्रहरी चौकी अमरपट्टीबाट खटिएको टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो ।
यस्तै, सिराहाको धनगढीमाई नगरपालिका ३ कुर्वा टोल निवासी ६५ वर्षीय जोगिन्द्र साहलाई १४ किलोग्राम गाँजासहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले उनको घरमा खान तलासी गर्दा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।






