काठमाडौं । सडक निर्माणको अनुगमनमा गएका एक सव-इन्जिनियरमाथि निर्माण स्थलमै कामदारहरूले कुटपिट गरेका छन् । पूर्वाधार विकास कार्यालय भोजपुरका सव–इन्जिनियर आनन्दकुमार साहमाथि भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बासिखोरा–बालंखा–रानीटार सडकअन्तर्गत रामप्रसादराई गाउँपालिका–७ ढडुवा–आरीखोला सडक निर्माण आयोजनाको अनुगमन तथा नापजाँच गर्ने क्रममा आक्रमण भएको हो ।
सडक निर्माण आयोजनाको अनुगमन तथा नापजाँच गर्ने क्रममा उनीमाथि निर्घात कुटपिट भएको पूर्वाधार विकास कार्यालयका नि. कार्यालय प्रमुख प्रमुख राजन राज रेड्डीले जानकारी दिए । उनका अनुसार साहको टाउकोमा गम्भीर चोट लागेको छ । सँगै शरीरका विभिन्न भागमा चोट र नीलडाम छ । प्राथमिक उपचारको क्रममा टाउकोमा टाँका लगाएर उनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।
सडक निर्माणमा प्राविधिक मापदण्डअनुसार गुणस्तर कायम राख्न निर्देशन दिँदा कामदारहरूले उनलाई कुटपिट गरेको उनले बताए । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त कार्यालय प्रमुख रेड्डीले जानकारी दिए ।






