रौतहट । रौतहट प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेमा कटहरिया नगरपालिका ६ का रामअशिश सहनी र शशी किशोर सहनी, चन्द्रपुर नगरपालिका ६ का शशी गुप्ता तथा चन्द्रपुर नगरपालिका ९ का कमल कुमार चौधरी रहेका छन् ।
उनीहरू सबै चेक अनादर मुद्दामा जिल्ला अदालतबाट जनही एक हजार रुपैयाँ जरिवाना हुने फैसला भएपछि फरार रहेका थिए । पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनका लागि बुधबार नै जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
यससँगै उनीहरूबाट कुल चार हजार रुपैयाँ जरिवाना असुल हुने भएको छ । फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




