वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र रहेका बाँकी संरचना हटाउने अभियान शुक्रबारदेखि पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले गण्डक क्षेत्रबाट डोजर परिचालन गर्दै दोस्रो चरणको अतिक्रमण हटाउने अभियान अघि बढाएको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगन्जका फोकल पर्सन दुर्गा प्रसादका अनुसार पहिलो दिन दुई वटा डोजर परिचालन गरिएको छ । आवश्यकताअनुसार शनिबारदेखि थप डोजर परिचालन गरिने र अभियानलाई तीव्र बनाइने उनले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा भएको छलफलपछि हाल आर्थिक वर्षको अन्तिम समय भएकाले विद्युत् लाइन नहटाई अभियान सञ्चालन गर्ने सहमति भएको छ । आर्थिक वर्षको काम सकिएपछि विद्युत् व्यवस्थापनसहित अभियानलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।
कार्यालयका अनुसार अभियान महानगरको उत्तरी क्षेत्रबाट सुरु गरिएको छ । क्रमशः दक्षिणतर्फ विस्तार गर्दै नेपाल–भारत सीमासम्म सडक अतिक्रमण हटाइने योजना रहेको छ ।
सडक डिभिजन कार्यालयले गत असार ५ गते वीरगन्ज महानगरपालिकालाई पत्र पठाएर त्रिभुवन राजमार्गअन्तर्गत सिरसिया–मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडकखण्डमा केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र रहेका स्थायी तथा अस्थायी संरचना हटाउन सहयोग गर्न आग्रह गरेको थियो । तर विभिन्न कारणले उक्त अभियान अघि बढ्न सकेको थिएन ।
यसअघि सार्वजनिक सूचना जारी गर्दै विभागले सडक सीमाभित्रका संरचना स्वयं हटाउन अन्तिम समयसीमा दिएको थियो । गत वैशाख ६ र ७ गते पहिलो चरणमा करिब १ हजार २ सय घर तथा भवनमा डोजर चलाइएको थियो । त्यसबेला अधिकांश संरचनाको अगाडिको भाग हटाइएको थियो भने बाँकी अतिक्रमित भाग २५ दिनभित्र आफैं हटाउन सम्बन्धितलाई निर्देशन दिइएको थियो । समय सीमापछि पनि धेरै संरचना नहटाइएपछि विभागले दोस्रो चरणको अभियान सुरु गरेको हो ।
सडक विस्तारको विरोध गर्दै प्रभावित घरधनीहरूले वीरगन्ज र काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै वीरगन्जको ऐतिहासिक तथा व्यापारिक महत्व कायम रहने गरी पुरानै एलाइनमेन्टअनुसार सडक विस्तारको निर्णय कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका थिए ।




