वीरगञ्ज । पर्साका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो ।
वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट बारा कलैया उपमहानगरपालिका ६ निवासी २८ वर्षीय आदेश ठाकुरलाई खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो । शुक्रबार साँझ प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले उनको साथबाट ५ सय ५० मिलिग्राम लागूऔषध बरामद गरेको जनाएको छ ।
यस्तै, छिपहरमाई गाउँपालिका ५ क्षेत्रमा गरिएको अर्को कारबाहीमा भारतको उत्तर प्रदेश, उन्नाव जिल्ला, थाना सफीपुर अन्तर्गत ग्राम पञ्चायत परियर निवासी ३६ वर्षीय राजु निषाद पक्राउ परेका छन् ।
प्रहरी चौकी भिस्वासहितको टोलीले उनको साथबाट करिब २ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






