जनकपुरधाम । धनुषाका विभिन्न होटलमा गरिएको छड्के अनुगमनका क्रममा अखाद्य तथा म्याद गुज्रिएका खाद्य सामाग्री प्रयोग भएको, पुरानो तेल पटक–पटक तताएर खाना पकाइएको तथा सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको पाइएपछि १२ वटा होटललाई कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा गठित संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्ग क्षेत्रका होटल तथा जनकपुरधामका विभिन्न होटलमा पाँच दिनदेखि अनुगमन सञ्चालन गरेको थियो ।
अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने खाद्य सामाग्री प्रयोग गरिएको, म्याद सकिएका वस्तु बिक्री तथा प्रयोगमा रहेको, भान्सा फोहोर अवस्थामा सञ्चालन गरिएको र खाद्य सामग्री तयार गर्दा न्यूनतम सरसफाइ मापदण्डसमेत पालना नगरेको भेटिएपछि सम्बन्धित होटललाई जरिबाना गरिएको हो ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक कृष्ण गैरेका अनुसार कसुरको प्रकृति हेरेर १२ वटा होटललाई पाँच हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिबाना गरिएको छ । उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिएको उनले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विमलकुमार दाहालले पछिल्लो पाँच दिनमा ५० भन्दा बढी होटलको निरीक्षण गरिएको बताए । उनका अनुसार अधिकांश होटलमा पटक–पटक प्रयोग गरिएको कालो तेल, झिँगा लागेको वातावरणमा खाना पकाउने, मासुजन्य खाद्य सामग्री अस्वच्छ रूपमा भण्डारण गर्ने तथा सरसफाइमा गम्भीर लापरबाही देखिएको थियो ।
जनकपुरधामका केही चर्चित होटलमा समेत यस्ता कमजोरी फेला परेको उनले बताए । गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले उपभोक्ताले सुरक्षित र गुणस्तरीय खाना पाउने अधिकार सुनिश्चित गर्न अनुगमनलाई तीव्र बनाइएको बताए ।
उनका अनुसार स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा कुनै सम्झौता नहुने भन्दै खाद्य गुणस्तरमा लापरबाही गर्ने होटल व्यवसायीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिए ।
उनले जनकपुरधाम धार्मिक तथा पर्यटकीय सहर भएकाले यहाँ सञ्चालन हुने होटल तथा रेस्टुरेन्टले सरसफाइ, खाद्य गुणस्तर र उपभोक्ता सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटल तथा रेस्टुरेन्टमाथिको अनुगमन नियमित रूपमा जारी रहने जनाएको छ । उपभोक्ताको स्वास्थ्यमा जोखिम पुर्याउने गतिविधि दोहोरिए थप कडा कारबाही गरिने सम्बन्धित निकायले चेतावनी दिएका छन् ।






