सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका २ धर्मपुरटोलबाट करिब ५० किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागमती नगरपालिका ११ सखुवनी निवासी ३५ वर्षीय थिरविक्रम रायमाझी र सोही स्थानका ३५ वर्षीय प्रदिप मगर रहेका छन् । उनीहरूलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार प्रहरी चौकी ब्रहम्पुरीबाट खटिएको टोलीले हरिवनबाट नारिवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ४५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाइछिपाइ राखिएको करिब ५० किलोग्राम गाँजा फेला परेको थियो ।
गाँजा बरामद भएपछि अटो चालक थिरविक्रम रायमाझी र अटोमा सवार प्रदिप मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले लागूऔषधको स्रोत, ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू तथा यसको गन्तव्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।






