महोत्तरी । महोत्तरी प्रहरीले करिब ४ सय ८७ किलो १ सय ५ ग्राम अवैध लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका ६ भकुण्डेका २१ वर्षीय विपस नेगी र कैलाश गाउँपालिका १ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान महोत्तरीको एकडारा गाउँपालिका १ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकबाट ४० किलो ३ सय ६० ग्राम गाँजा बरामद भएको थियो । उक्त गाँजासहित ट्रक चालक विपस नेगी र ट्रकमा सवार साधुराम थिङलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनाको थप अनुसन्धानका क्रममा पक्राउ परेका दुवैले ट्रकमा रहेको थप गाँजा महोत्तरी गाउँपालिका ४ रानी रतवडामा झारेको बताएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले रानी रतवडास्थित ४२ वर्षीया लिलम देवीको घरमा तलासी गर्दा लुकाइछिपाइ राखिएको ३५ वटा प्लास्टिकका पोकामा रहेको थप ४ सय ४६ किलो ७ सय ४५ ग्राम गाँजा आइतबार बिहान बरामद गरेको प्रहरीले जनाएको छ ।
यससँगै महोत्तरीमा बरामद गाँजाको कुल परिमाण ४ सय ८७ किलो १ सय ५ ग्राम पुगेको छ । घटनाका सम्बन्धमा लागूऔषधको स्रोत, ओसार पसारमा संलग्न अन्य व्यक्ति तथा सञ्जालबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




