रौतहट । रौतहटको गरुडाबाट प्रहरीले एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । गरुडा नगरपालिका ५ झाझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा जाँच गर्दा गरुडा नगरपालिका ९ बिर्ता बस्ने अन्दाजी ४२ वर्षीय सदरे आलम पक्राउ परेका हुन् ।
शंकास्पद अवस्थामा फेला परेका आलमको शरीर खान तलासी गर्दा कम्मरमा भिरेको अवस्थामा लोड भएको एक नाल कटुवा पेस्तोल बरामद भएको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका आलमसँग सोधपुछ गर्दा थप हतियार र नगद लुकाएको रहस्य खुलेको छ ।
उनले सोही मदिरा पसलको पछाडि रहेको खेतको झ्याङमा गोली तथा नगद रुपैयाँ लुकाई छिपाई राखेको बयान दिएका थिए । आलमको बयानका आधारमा उनलाई साथमा लिई उक्त स्थानमा खानतलासी गर्दा थप सामग्री बरामद भएको छ ।
प्रहरीले उक्त झ्याङबाट कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउन्ड गोली, १ थान ब्ल्याङ्क राउन्ड गोली, कालो रङको पर्सभित्र रहेको २४ हजार ५ सय भारतीय रुपैयाँ, ३२ हजार ५ सय नेपाली रुपैयाँ र २ पिस नाइट्राभेट ट्याबलेट बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




