काठमाडौं । सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध टिप्पणी गरेको विषयमा प्रहरीले धनुषाका एक स्वास्थ्यकर्मीसँग सोधपुछ गरेको छ । धनुषा प्रहरीले हेल्थ असिस्टेन्ट नवेश अधिकारीलाई नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि रिहा गरेको हो ।
प्रहरीका अनुसार अधिकारीले स्वास्थ्यकर्मीको सेवा सुविधा वृद्धि गर्नुपर्ने माग राख्दै स्वास्थ्यमन्त्रीको राजीनामा मागेको सामग्री सामाजिक सञ्जालमा प्रकाशित गरेका थिए । उनले शनिबार स्वास्थ्यमन्त्री मेहताको तस्बिरमा रातो मसिले क्रस चिन्ह लगाई ‘माफिया मन्त्री’ लेखिएको पोस्ट सार्वजनिक गरेका थिए ।
धनुषाका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले अधिकारीलाई सामान्य सोधपुछका लागि बोलाइएको र त्यसपछि रिहा गरिएको जानकारी दिए । उनले भने, “हामीले उहाँलाई सोधपुछका लागि बोलाएका थियौँ । सामान्य सोधपुछपछि रिहा गरिएको हो ।” अधिकारी आफू कार्यरत निजी स्वास्थ्य संस्थामा पनि तलब तथा सेवा सुविधा वृद्धि गर्नुपर्ने माग उठाउँदै आएका थिए ।






