सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार कर्जन्हा नगरपालिका ४ बाट यादवलाई नियन्त्रणमा लिएको हो । सेवाग्राहीबाट घुस मागिएको भन्ने उजुरीका आधारमा गरिएको स्ट्रिङ अपरेसनका क्रममा उनी पक्राउ परेका हुन् ।
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका २ मा सञ्चालित एक मिलले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको सहजीकरण गरिदिने भन्दै प्रतिट्रक चार हजार रुपैयाँका दरले जम्मा १२ हजार रुपैयाँ घुस लिएको आरोप छ ।
सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले योजना बनाएर अपरेसन सञ्चालन गरेको थियो । पक्राउपछि घटनास्थलमा मुचुल्का उठाउने तथा थप अनुसन्धानको काम भइरहेको अख्तियारले जनाएको छ ।
यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख बेचन चौधरीले घटनाबारे भर्खरै जानकारी प्राप्त भएको बताउँदै कुन विषयमा र कसरी घुस लिएको भन्ने बारे थप जानकारी संकलन भइरहेको प्रतिक्रिया दिए । अख्तियारले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।






