काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक गुन्जेश्वर मण्डल विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
विद्यालयमा माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक मण्डलको पीसीएल र स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि आयोगले बुधबार मुद्दा दायर गरेको हो ।
शिक्षक मण्डलले शिक्षक पेसामा नियुक्ति लिने क्रममा भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट आईएस्सी र चौधरी चरण सिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।
उनले ती नक्कली प्रमाणपत्रका आधारमा माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदमा नियुक्ति लिई सरकारी ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मण्डलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकाले उनलाई सोही ऐन बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।




