सिरहा । सिरहामा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटना पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरपालिका ९ चोहर्वामा भएको हो ।
मे १ ख २३६३ नम्बरको शिवशक्ति बाल बोर्डिङ स्कुलको बसमा सोही दिशाबाट आइरहेको म प्र ०१–००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार करिब २४ वर्षीय एक अज्ञात युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मिर्चैया नगरपालिका ५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन् । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको बस अचानक उत्तरतर्फको गोविन्दपुर सडकमा मोड्ने क्रममा पछाडिबाट आइरहेको मोटरसाइकल बसमा ठोक्किँएको थियो ।
गम्भीर घाइते रिहानको टाउको, हात तथा दुवै खुट्टामा चोट लागेको छ । गोलबजारस्थित लाइफ लङ अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।
त्यस्तै, राइनको बायाँ खुट्टा, बायाँ हात र टाउकोमा चोट लागेको छ । उनको गोलबजारमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाका बेला तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।
मृतकको शव मिर्चैया अस्पतालमा राखिएको छ भने दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।






