बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भलुहीचोकस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा ज्यान गुमाउने व्यक्ति पर्साको ठोरी गाउँपालिका ४ निवासी ४० वर्षीय ईश्वर श्रेष्ठ हुन् ।
बुधबार बिहान करिब ५:३० बजे वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
उहाँलाई तत्काल प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिए पनि अवस्था गम्भीर रहेपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो । उपचारकै क्रममा बुधबार दिउँसो करिब ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक मिनबहादुरका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।






