रौतहट । रौतहटको राजपुर नगरपालिकामा बिहीबार बिहान एक महिलाको शव नहरमा फेला परेको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान करिब ७:२० बजे राजपुर नगरपालिका ३ स्थित राजपुर–फतुवा सडकखण्ड छेउको नहरमा महिलाको शव देखिएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धान टोलीसहितको प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीले शवको पहिचान परोहा नगरपालिका ५ निवासी २४ वर्षीया मुस्कान खातुनका रूपमा गरेको छ । उनी शेख मोबिनकी श्रीमती हुन् । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनी यसअघि पनि घरबाट हराएकी थिइन् र उनको खोजीका लागि प्रहरीमा निवेदन समेत परेको खुलेको छ ।
प्रहरीले घटनाका सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ । मृत्युको वास्तविक कारण भने पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मात्रै यकिन हुने डीएसपी गौतमले बताए ।




