रौतहट । बारा–रौतहटसँग सीमा जोडिएको भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा मल तस्करी तथा नक्कली रासायनिक मल उत्पादनमा संलग्न गिरोहमाथि भारतीय प्रशासनले व्यापक कारबाही गरेको छ ।
संयुक्त सुरक्षा टोलीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा २ हजार बोरा अवैध रासायनिक मल बरामद गरिएको छ भने नक्कली डीएपी मल उत्पादन भइरहेको कारखाना फेला पारेर कानुनी प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला कृषि पदाधिकारी मनीष कुमार सिंहको नेतृत्वमा सशस्त्र सीमा बल एसएसबीको ७१ औँ बटालियन र स्थानीय प्रहरीले मंगलबार मध्यराति बनकटवा प्रखण्डअन्तर्गत बडहरवा, रेगनिया, आठमोहन र बीजबनी गाउँमा एकैसाथ छापामारी गरेका थिए ।
कारबाहीका क्रममा तस्करीका लागि गोदाममा लुकाइराखिएको २ हजार बोरा अवैध रासायनिक मल नियन्त्रणमा लिइएको भारतीय अधिकारीहरूले जनाएका छन् । छापामारीका क्रममा अगरवा गाउँमा नक्कली डीएपी मल उत्पादन भइरहेको कारखाना पनि फेला परेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त कारखानामा उत्पादन गरिएको नक्कली मल सीमावर्ती भारतीय बजारमा बिक्री गर्नुका साथै नेपालका बारा र रौतहट जिल्लासम्म तस्करी गरेर पुर्याइँदै आएको आशंका गरिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा जावेद अन्सारी, विश्वनाथ राय, सिकन्दर राय, सिखु राय र सुधीर रायविरुद्ध मल तस्करी तथा अवैध भण्डारणसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
यस्तै, नक्कली डीएपी मल उत्पादन गरेको आरोपमा प्रमोद राय र मदन रायविरुद्ध पनि कानुनी कारबाही अघि बढाइएको भारतीय प्रशासनले जनाएको छ ।
यसअघि पनि बनकटवा, आदापुर, छौडादानो र घोडासहन क्षेत्रका १४ वटा मल बिक्री केन्द्रलाई कालोसूचीमा राखिएको थियो । सीमावर्ती क्षेत्रमा मलको अवैध कारोबार नियन्त्रण गर्न निगरानी र कारबाहीलाई अझ कडा बनाइने प्रशासनले जनाएको छ ।
सीमावर्ती नेपालमा पनि असर पर्ने जोखिम
पूर्वी चम्पारणसँग बारा र रौतहटको खुला सीमा जोडिएकाले त्यहाँ हुने मल तस्करी तथा नक्कली मलको कारोबारबाट नेपाली किसानसमेत प्रभावित हुने जोखिम रहेको छ ।
खेतीपातीको मुख्य समयमा सस्तो मूल्यको प्रलोभनमा यस्ता नक्कली मल नेपाल भित्रिन सक्ने सम्भावना रहेकाले सीमामा निगरानी अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
भारतीय प्रशासनको पछिल्लो कारबाहीले सीमापार हुने अवैध मल कारोबार नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






