काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले महिनौँदेखि कार्यालयमा अनुपस्थित रहँदै काठमाडौंबाटै नगरपालिकाको खाताबाट करोडौँ रुपैयाँ अवैध रूपमा निकालेको आरोप लागेको छ ।
महिनौँदेखि मौलापुर नगरपालिकामा हाजिर नभएका घिमिरेले काठमाडौंबाटै नगरपालिकाको खाताबाट करोडौँ रुपैयाँ निकालेको खुलेपछि उक्त रकम तत्काल नगरपालिकाको खातामा फिर्ता गराई उनलाई निलम्बन गरेर छानबिन तथा कारबाही गर्न माग गरिएको छ ।
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रशासनिक प्रमुखको जिम्मेवारी पूरा गर्नुको सट्टा करोडौँ रुपैयाँ दुरुपयोग गरी सरकारी ढुकुटीमा लुट मच्चाउने कार्य कुनै पनि हिसाबले स्वीकार्य नभएको बताउँदै रकम फिर्ता गराई निष्पक्ष छानबिन गर्नुपर्ने बताएकी छन् ।
शुक्रबार जारी विज्ञप्तिमा मेयर साहले भनिन्, “मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले काठमाडौंमै बसेर नगरपालिकाको खाताबाट करोडौँ रुपैयाँ निकालेको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । महिनौँदेखि कार्यालयमा नआउने, नगरपालिकालाई अस्तव्यस्त बनाउने, सेवाप्रवाह ठप्प पार्ने, सेवाग्राहीलाई दुःख दिने, बजेट फ्रिज गराई विकास निर्माणका काम अवरुद्ध पार्ने तथा प्रशासनिक प्रमुखको हैसियतमा आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्नुको सट्टा सरकारी रकम दुरुपयोग गर्ने कार्य कुनै पनि हिसाबले उचित होइन ।”
उनले नेतृत्वको जानकारी र निर्णयबिनै नगरपालिकाको खाताबाट रकम निकालिएको घटना गम्भीर आर्थिक अपराध भएको उल्लेख गर्दै सरकारी खाताबाट निकालिएको रकम तत्काल नगरपालिकाको खातामा फिर्ता गर्न उपसचिव घिमिरेसँग आग्रह गरेकी छन् ।
विज्ञप्तिमा मेयर साहले, “सरकारी ढुकुटीलाई आफ्नो पैतृक सम्पत्तिजस्तो ठानेर मनपरी लुट मच्चाउने यो कार्य आर्थिक उच्छृङ्खलताको पराकाष्ठा मात्र नभई भ्रष्टाचारजन्य अपराध हो । यसमा संलग्न जोसुकै भएपनि छानबिनको दायरामा ल्याई कानुनी कारबाही गरिनुपर्छ,” भनेकी छन् ।
मेयर साहले गैरकानुनी रूपमा कार्य गरेको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई तत्काल निलम्बन गरी सरकारी खाताबाट निकालिएको करोडौँ रुपैयाँ असुलउपर गरेर नगरपालिकाको खातामा फिर्ता गराउन नेपाल सरकारसँग जोडदार माग गरेकी छन् ।
साथै, मौलापुर नगरपालिकाको समस्या समाधान गर्न पटक–पटक असफल भएको संघीय मन्त्रालयले अब गम्भीर भएर समस्याको निकास निकाल्न पहल गर्नुपर्ने उनले आग्रह गरेकी छन् ।
मेयर साहका अनुसार, मौलापुर नगरपालिकासम्बन्धी विषयमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशसमेत बेवास्ता गर्ने घिमिरेको कार्यशैलीका कारण स्थानीयवासी आन्दोलित भएका छन् । सोही असन्तुष्टिका बीच मौलापुरवासीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेका थिए ।




