रूपन्देही । दाङमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनलाई लिएर विवाद चर्किँदा एक जनप्रतिनिधिले शिक्षा अधिकृतमाथि मोबिल खन्याएको घटना सार्वजनिक भएको छ ।
घोराही उपमहानगरपालिका १५ का वडासदस्य लेखनाथ बुढाथोकी (उत्तम) ले घोराही शिक्षा महाशाखाका अधिकृत अजय बोहोराको मोटरसाइकल रोकी उनीमाथि मोबिल छ्यापेका हुन् ।
वडासदस्य बुढाथोकीले पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन गैरकानुनी रूपमा गरिएको आरोप लगाउँदै उक्त व्यवहार गरेको जनाइएको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जनप्रतिनिधिको भूमिकालाई लिएर व्यापक आलोचना भइरहेको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य बुढाथोकीले उक्त भिडियो आफैँ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।






