रौतहट । रौतहटको कटहरिया नगरपालिका ३ बरेडवामा एक नवविवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका ३ निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाई बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
घटनाको जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय कटहरियाको टोली घटनास्थल पुगेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाउनुका साथै प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।
कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । मृतकका बुबा तथा ईशनाथ नगरपालिका–जटहरा निवासी रबिन्द्र साह सोनारले भने छोरीको हत्या भएको आरोप लगाएका छन् ।
उनका अनुसार विवाहपछि ज्वाइँ निरज कुमार साह सोनारले एसी, नगद तथा अन्य दाइजोको माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेका थिए । उनले घटनालाई आत्महत्याजस्तो देखाउने प्रयास गरिएको दाबीसमेत गरेका छन् ।
मृतकका बुबाले घटनापछि निरज कुमार साह सोनार घरबाट सम्पर्कविहीन भएको पनि बताएका छन् । यसैबीच स्थानीयवासी र आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि मात्रै खुल्ने बताए । उनका अनुसार हाल घटनाका सबै पक्षबाट प्रमाण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा नहुँदासम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने प्रहरीले जनाएको छ ।






