सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित यातायात व्यवस्था कार्यालय सामान्य वर्षा हुँदा पनि डुबानमा पर्ने गरेको छ । कार्यालयभित्रै पानी पस्ने समस्याका कारण सेवा प्रवाह प्रभावित हुनुका साथै सेवाग्राही र कर्मचारी दुवै सास्ती खेप्न बाध्य छन् ।
आफ्नै कार्यालय भवन नहुँदा पुरानो जिल्ला विकास समिति जिविसको भवनबाट सेवा सञ्चालन गर्दै आएको कार्यालय वर्षायाममा विशेष समस्यामा पर्ने गरेको हो । भवन रहेको स्थान होचो भएकाले वरपरबाट बगेको वर्षाको पानी कार्यालय परिसर र कोठाभित्रै जम्ने गरेको कर्मचारीहरू बताउँछन् ।
कार्यालय परिसर जलमग्न हुँदा सेवाग्राहीलाई कार्यालय प्रवेश गर्न समेत कठिन हुने गरेको छ । कार्यालयभित्र जताततै पानी जमेकाले लेउ लागेर चिप्लिने जोखिम समेत बढेको छ । यस्तो अवस्थाले सेवाग्राहीसँगै कर्मचारीको सुरक्षामा पनि चुनौती थपिएको छ ।
कार्यालयभित्र पानी पसिरहँदा कम्प्युटर, फर्निचर, महत्वपूर्ण कागजात लगायत कार्यालयका सामाग्रीमा क्षति पुग्ने जोखिम रहेको कर्मचारीहरूको भनाइ छ । ठूलो वर्षा भएका दिन कार्यालय सञ्चालन गर्न समेत कठिन हुने अवस्था रहेको उनीहरूले बताएका छन् ।






