महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ८ स्थित बर्दिबास–जलेश्वर सडकखण्डको मेवाटोल नजिक मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ औरहीबाट बर्दिबासतर्फ आउँदै गरेको ज ८ प ५२८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बर्दिबास नगरपालिका ८ हातिलेट निवासी ५० वर्षीय टिकबहादुर आले गम्भीर घाइते भएका थिए ।
टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेका आलेलाई तत्काल बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा राति करिब १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) गुरुप्रसाद तिमल्सिनाले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक बर्दिबास नगरपालिका १ नमुना बस्ती, अधिकारी टोल निवासी ४६ वर्षीय नारायण श्रेष्ठ पनि गम्भीर घाइते भएका छन् । टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको बर्दिबास प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय हातिलेटबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी तिमल्सिनाले बताए ।






