सर्लाही । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका २ निवासी शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका १ स्थायी घर भई हाल पश्चिम नवलपरासी बस्दै आएका विनोद साह कलवार रहेका छन् ।
प्रहरीका अनुसार उखु किसानलाई लामो समयदेखि करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरिएको हो ।
दुवै जनाविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको छ ।






