रौतहट । मिटरब्याजबाट पीडित नागरिकहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिँदै रौतहटको चन्द्रपुरमा कोणसभा गरेका छन् । जनकपुरबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका पीडितहरूले सरकारले आफ्ना माग बेवास्ता गरे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् ।
चन्द्रपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आन्दोलन समितिका अध्यक्ष अबधेश कुशवाहाले मिटरब्याज पीडितहरूले वर्षौंदेखि अन्याय र आर्थिक शोषण भोग्दै आएको बताए । सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नगरेकाले सडक आन्दोलन रोज्न बाध्य भएको उनको भनाइ थियो ।
उनले प्रतिकूल मौसम, लगातारको वर्षा र शारीरिक कठिनाइका बाबजुद न्यायको खोजीमा जनकपुरदेखि काठमाडौंसम्मको पैदल यात्रा जारी रहेको उल्लेख गर्दै ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसमेत यात्रामा सहभागी हुनु आन्दोलनको गम्भीरता र पीडितहरूको दृढ संकल्पको प्रतीक भएको बताए ।
कोणसभाका क्रममा सहभागीहरूले ‘मिटरब्याज पीडितलाई न्याय दे’, ‘अवैध तमसुक खारेज गर’, ‘लुटिएको सम्पत्ति फिर्ता गर’ र ‘दलालहरू होशियार’ लगायतका नारा लगाउँदै सरकारसँग तत्काल ठोस निर्णय गर्न माग गरेका थिए ।
पीडितहरूले सरकारसमक्ष राखेको ६ बुँदे मागमा मिटरब्याजसँग सम्बन्धित अवैध तमसुक तथा कागजात खारेज गर्ने, विशेष आयोग र विशेष न्यायाधिकरण गठन गर्ने, कब्जा गरिएको सम्पत्ति फिर्ता गराउने, दोषीलाई कानुनी कारबाही गर्ने तथा पीडितहरूको आर्थिक पुन:र्स्थापनाको व्यवस्था गर्नुपर्ने विषय समेटिएका छन् ।
आन्दोलनकारीहरूले सरकारले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । उनीहरूले “हामी दया होइन, संविधानले सुनिश्चित गरेको न्यायको अधिकार मागिरहेका छौं । अब आश्वासन होइन, कार्यान्वयन चाहिन्छ,” भन्दै सरकारलाई तत्काल निर्णय गर्न आग्रह गरेका छन् ।
चन्द्रपुरमा कोणसभा सम्पन्न गरेपछि मिटरब्याज पीडितहरूको ‘न्याय मार्च’ बारा जिल्लातर्फ प्रस्थान गरेको छ ।




