जनकपुर । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गर्दै न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ । अदालतले निर्धारण गरिएको लक्ष्यको १०१.६० प्रतिशत प्रगति गर्दै लक्ष्यभन्दा बढी मुद्दा टुंग्याएको हो ।
अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका दुई हजार २६७ र नयाँ दर्ता भएका चार हजार २४९ गरी कुल छ हजार ५१६ मुद्दा अदालतमा रहेका थिए । तीमध्ये चार हजार ६१९ मुद्दा फर्स्यौट गरिएको छ, जुन कुल मुद्दाको ७०.८८ प्रतिशत हो ।
हाल अदालतमा एक हजार ८९७ मुद्दा मात्रै विचाराधीन अवस्थामा छन् । अदालतले पुराना मुद्दा फर्स्यौटलाई विशेष प्राथमिकतामा राख्दै रणनीतिक योजनाअनुसार कार्यसम्पादन गरेकाले १८ महिना तथा दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्यमा झार्न सफल भएको जनाएको छ ।
चालु आर्थिक वर्षका लागि अदालतले चार हजार ५४६ मुद्दा फैसला गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर प्रभावकारी कार्य सम्पादनका कारण लक्ष्यभन्दा ७३ मुद्दा बढी अर्थात् चार हजार ६१९ मुद्दा फर्स्यौट गर्न सफल भएको हो ।
उच्च अदालत जनकपुरले आगामी आर्थिक वर्षमा छ हजार ८२६ नयाँ मुद्दा दर्ता हुन सक्ने अनुमान गर्दै त्यसअनुसार न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।




