सिराहा । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिराहाले नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा ओसारपसार हुँदै आएको १५ लाख ४८ हजार ८७० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
शुक्रवार नियमित गस्तीका क्रममा सीमा क्षेत्रका विभिन्न स्थानबाट किराना सामान, कपडा, मदिरा, पेय पदार्थ तथा दुई वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सिराहा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी सियाराम चौधरीले जानकारी दिए ।
बरामद गरिएका मोटरसाइकलहरूको नम्बर बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ रहेको छ । ती मोटरसाइकलसहितका सामानहरू भन्सार छली गरी ओसारपसार गरिएको आशंकामा रितपूर्वक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ कपडा र किराना सामान अवैध रूपमा भित्र्याइने तथा नेपालबाट भारततर्फ मदिरा ओसार्ने गतिविधि सीमा क्षेत्रमा अझै पनि जारी छ ।
यसैबीच, सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिराहाले गत असार महिनामा मात्रै एक करोड ५६ लाख रुपैयाँभन्दा बढी मूल्यका चोरीपैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।




