राजविराज । नेपालकै पहिलो योजनाबद्ध सहरका रूपमा चिनिने सप्तरीको राजविराज स्थापना भएको ८३ वर्ष बितिसक्दा पनि अपेक्षाअनुसार विकास हुन सकेको छैन । विभिन्न राजनीतिक परिवर्तन भए पनि सहरले अझै अव्यवस्थित बजार, पार्किङ, फोहोर व्यवस्थापन, बिटौरी जग्गा र छाडा चौपायाजस्ता पुरानै समस्यासँग जुध्नुपरेको छ ।
भारतको जयपुर सहरलाई आधार मानेर वि.सं. १९९९ मा ‘टाउन प्लानिङ’ अवधारणाअनुसार राजविराज निर्माण गरिएको थियो । सुरुमा ६० बिघा र पछि थप १० बिघा गरी ७० बिघा क्षेत्रफलमा सहर विस्तार गरिएपनि अहिले योजनाअनुसारको स्वरूप भने कायम रहन सकेको छैन ।
स्थानीयवासीका अनुसार सहरमा बसपार्क, टेम्पु स्ट्यान्ड, माइक्रोबस स्ट्यान्ड र हाटबजार व्यवस्थापन हुन नसक्दा मुख्य सडक नै अस्तव्यस्त बनेको छ । “व्यवस्था फेरियो, तर राजविराजको अवस्था उस्तै छ,” भन्ने गुनासो स्थानीयले गर्दै आएका छन् ।
राजविराज ९ का ७३ वर्षीय मदनमोहन मण्डलका अनुसार कोशीको बाढीले हनुमाननगरस्थित तत्कालीन सदरमुकाममा क्षति पुर्याएपछि वि.सं. १९९९ मा राजविराजलाई नयाँ सदरमुकामका रूपमा विकास गरिएको थियो । पछि वि.सं. २०१६ मा यसलाई नगरपालिका घोषणा गरिएको थियो ।
उहाँका अनुसार राजनीतिक दलबीचको असमझदारी, विकासप्रति राज्यको कमजोर ध्यान र योजनाको निरन्तरताको अभावले योजनाबद्ध सहरको अवधारणा सफल हुन सकेन । पूर्व नगरप्रमुख जगरनाथ दासले आफ्नो कार्यकालमा बनेका धेरै संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएको बताउँदै संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
कार्यवाहक नगरप्रमुख इसरत परवीनले राजनीतिक अवरोध र विभिन्न कारणले विकासका काम प्रभावित भएपनि सहरलाई व्यवस्थित बनाउन नगरपालिका निरन्तर काम गरिरहेको बताइन् ।
बसपार्क बने पनि सञ्चालन भएन
राजदेवी चोकमा निर्माण गरिएको नयाँ बसपार्क उद्घाटन भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । ठेक्का प्रक्रिया पटक–पटक असफल भएपछि अब नगरपालिकाले आफैँ बसपार्क सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
फोहोर व्यवस्थापन अझै चुनौती
नगरपालिका स्थापना भएको ६७ वर्षपछि पनि व्यवस्थित डम्पिङ साइट निर्माण हुन सकेको छैन । नगरबाट दैनिक सङ्कलन हुने करिब ५० टन फोहोर अझै अस्थायी रूपमा फालिँदै आएको छ । नयाँ डम्पिङ साइट निर्माणको योजना अघि बढेपनि कामले गति लिन सकेको छैन ।
पाँच हजारभन्दा बढी परिवार पुर्जाविहीन
राजविराजका करिब पाँच हजार २०० परिवार बिटौरी जग्गामा बसोबास गर्दै आएपनि उनीहरूसँग अझै लालपुर्जा छैन । त्यसका कारण बैंकबाट ऋण लिनेदेखि जग्गा किनबेच गर्नेसम्मका काम प्रभावित भएका छन् । समस्या समाधानको माग गर्दै स्थानीयले ५२ दिन आन्दोलन गरेका थिए भने सरकारी आश्वासनपछि आन्दोलन हालका लागि स्थगित गरिएको छ ।
सडकमा छाडा चौपाया र जथाभावी पार्किङ
मुख्य सडकमा छाडा चौपायाको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेको छ । त्यस्तै, बजार क्षेत्र, अदालत रोड, गजेन्द्रनारायण सिंह अस्पताल आसपास र नेता चोकमा अव्यवस्थित पार्किङ तथा सडकमै लाग्ने हाटबजारका कारण दैनिकजसो ट्राफिक जाम हुने गरेको छ ।
नगरपालिकाले नगर प्रहरी परिचालन गरी पार्किङ व्यवस्थापन सुधार्ने र सहरलाई क्रमश: व्यवस्थित बनाउने योजना अघि सारेको जनाएको छ ।






