रौतहट । जिल्ला अदालत रौतहटको शौचालयको भेन्टिलेसनबाट फरार भएका एक थुनुवालाई रौतहट प्रहरीले करिब डेढ घण्टामै पुन: पक्राउ गरेको छ । पक्राउ पर्ने गढीमाई नगरपालिका ६ निवासी २५ वर्षीय करणकुमार यादव मोटरसाइकल चोरी मुद्दाका अभियुक्त हुन् ।
अनुसन्धानका लागि न्यायिक हिरासतको अनुमति लिन प्रहरीले उनलाई शुक्रबार जिल्ला अदालत गौरमा उपस्थित गराएको थियो । अदालत परिसरमा रहेका बेला यादवले शौचालय जान अनुमति मागेपछि प्रहरीको निगरानीमै शौचालय प्रवेश गरेका थिए । तर, शौचालयको भेन्टिलेसनबाट बाहिर निस्किएर उनी अपराह्न करिब ४ बजे फरार भएका थिए ।
घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाभरका प्रहरी युनिट परिचालन गर्दै तीव्र खोजी अभियान सञ्चालन गरेको थियो । खोज तलासका क्रममा फरार यादवलाई यमुनामाई गाउँपालिका अन्तर्गत गौर–चन्द्रपुर सडकखण्डको बम नहर क्षेत्रबाट करिब डेढ घण्टापछि प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालका अनुसार थुनुवालाई अदालत लैजाने जिम्मेवारीमा रहेका प्रहरी जवानको भूमिकाबारे समेत छानबिन सुरु गरिएको छ । अनुसन्धानबाट लापरबाही पुष्टि भए आवश्यक विभागीय कारबाही गरिने उनले बताए ।
अदालत परिसरजस्तो संवेदनशील स्थानबाट थुनुवा फरार हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको भए पनि प्रहरीले छोटो समयमै उनलाई पुन: नियन्त्रणमा लिन सफल भएपछि घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




