रौतहट । रौतहटको गौर भन्सार नाकाबाट नेपाल भित्र्याइँदै गरिएको शंकास्पद नगद रकमसहित एक भारतीय नागरिक पक्राउ परेपछि सीमावर्ती क्षेत्रमा सक्रिय हुण्डी कारोबारको सञ्जालबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
शुक्रबार साँझ गौर नगरपालिका-१ स्थित गौर भन्सार कार्यालय अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट अटो रिक्सामार्फत नेपाल प्रवेश गर्दै गरेका भारतको बिहार राज्य, सीतामढी जिल्ला बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार शंकाका आधारमा शरीर खानतलासी गर्दा जयसवालले मोजाभित्र लुकाएर राखेको नेपाली ५ लाख ५० हजार रुपैयाँ र भारतीय ४ हजार ८५ रुपैयाँ बरामद भएको थियो । साथै उनको साथबाट भिभो कम्पनीको एक थान मोबाइल फोन पनि फेला परेको प्रहरीले जनाएको छ ।
बरामद रकममध्ये नेपाली एक हजार दरका ४९५ थान र पाँच सय दरका ११० थान नोट रहेका छन् । रकमको वैधानिक स्रोत पुष्टि गर्न नसकेपछि प्रहरीले जयसवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
प्रहरीको प्रारम्भिक सोधपुछमा जयसवालले यसअघि पनि विभिन्न मितिमा निश्चित पारिश्रमिक लिएर भरियाका रूपमा नेपालतर्फ नगद रकम ल्याउने गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । यसबाट उनी अवैध रकम ओसारपसार गर्ने सञ्जालका भरियाका रूपमा प्रयोग हुँदै आएको आशंका गरिएको छ ।
यद्यपि, बरामद रकम कसको हो, यसको वास्तविक मालिक को हुन् वा रकम कुन प्रयोजनका लागि नेपाल भित्र्याइँदै थियो भन्ने विषयमा प्रहरीले हालसम्म खुलाउन सकेको छैन । प्रहरीले घटनालाई सम्भावित हुण्डी कारोबारसँग जोडेर अनुसन्धान गरिरहेको जनाएको छ ।




