राजविराज । सप्तरी कारागारमा केही कैदीबन्दीलाई स्थानान्तरण गर्ने तयारीका क्रममा शनिबार बिहान विवाद उत्पन्न भएपछि केहीबेर तनावको अवस्था सिर्जना भएको छ । प्रहरीका अनुसार अहिले भने कारागारको अवस्था पूर्ण रूपमा सामान्य रहेको छ ।
कारागार प्रशासनले ‘बी’ ब्लकमा रहेका पाँच–छ जना कैदीबन्दीलाई अर्को ब्लक वा अन्य कारागारमा सार्ने तयारी गरेपछि केही कैदीबन्दीले त्यसको विरोध गर्दै होहल्ला गरेका थिए । विरोधका क्रममा केहीले शरीरमा मट्टितेल छर्केर आगो लगाउने चेतावनी समेत दिएको बताइएको छ ।
स्थिति तनावपूर्ण बनेपछि कारागार प्रमुख रुपक मण्डलले थप सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रहरी कार्यालयसँग आग्रह गरेका थिए । त्यसपछि प्रहरी टोली कारागारभित्र पुगेर सुरक्षा व्यवस्था मजबुत बनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले आवश्यक सुरक्षा व्यवस्था मिलाइएपछि अवस्था नियन्त्रणमा आएको र हाल कारागारभित्र कुनै समस्या नरहेको जानकारी दिए ।
यसैबीच, कारागारभित्र रहेका केही कैदीबन्दीले भने ब्लक नायक परिवर्तनको मागलाई लिएर विवाद भएको दाबी गरेका छन् । तर यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भइसकेको छैन ।
घटनापछि कारागारको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ । साथै, घटनाको कारणबारे आवश्यक समन्वय र थप निगरानी भइरहेको प्रहरीको भनाइ छ ।




