रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन (मापसे) गरेका ट्रक चालकले दुई यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो ।
दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका ९ धनुषाका करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिकाका करिब ४३ वर्षीय विकास पौडेल, सुनसरीका करिब ४५ वर्षीय प्रदीप खड्का, इनरुवा नगरपालिका २ की करिब ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङ सुन्दरहरैँचा नगरपालिका ५ हरैताकी करिब ४६ वर्षीया रितु वर्ण कार्की, सोही स्थानका करिब ४४ वर्षीय मेघराज कार्की, सुनसरी इटहरी उपमहानगरपालिकाका करिब ३२ वर्षीय सफल मगर तथा मोरङ सुन्दरहरैँचा ५ हरैताकी करिब ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सफल मगरको प्रारम्भिक उपचार चपुरस्थित सिमन्त हाईवे अस्पतालमा भइरहेको क्रममा उनी उपचार अधुरै छाडेर आफैं अस्पतालबाट हिँडेको जनाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिकाका करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






