सर्लाही । आफूले मन पराएकी युवतीसँग विवाह गर्न नपाएको भन्दै नेपाल टेलिकमको टावरमा चढेका सर्लाहीका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार बिहान करिब ५:४५ बजे मलंगवास्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका गोडैता नगरपालिका ९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसेनलाई परिवार र सुरक्षाकर्मीको समन्वयमा सुरक्षित रूपमा तल झारिएको हो ।
उद्धारपछि उनलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार हुसेनले आफूलेसँगै अध्ययन गरेकी युवतीसँग विवाह गर्न चाहेको तर परिवारबाट अनुमति नपाएपछि दबाब दिन टावरमा चढेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘आफूसँगै पढ्ने युवतीसँग विवाह गर्न नपाएको विरोधमा उनी टावरमा चढेका रहेछन् । परिवारले विवाहमा सहमति नजनाएपछि दबाब सिर्जना गर्ने उद्देश्यले यस्तो कदम चालेका हुन्,’ प्रहरी निरीक्षक पाण्डेले भने ।
हुसेन सर्लाही क्याम्पस, मलंगवामा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् । टावरमा पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरेर आफू माथि रहेको जानकारी दिएका थिए । त्यसपछि घटनाबारे सुरक्षा निकायलाई खबर पुगेको प्रहरीले जनाएको छ ।
फोनमार्फत उनले प्रेमिकालाई घटनास्थलमा बोलाइदिनुपर्ने र परिवारले विवाहको अनुमति दिनुपर्ने माग राखेका थिए । माग पूरा नभए टावरबाट हाम फाल्ने चेतावनी समेत दिएका थिए ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि परिचालन भएको थियो । सुरुमा तल झर्न नमानेपछि प्रहरीले उनका बुवा र दाजुलाई घटनास्थलमा बोलाएको थियो ।
परिवारसँग लामो संवाद र सम्झाइबुझाइपछि बुवा र दाजुले मागबारे सकारात्मक पहल गर्ने आश्वासन दिएका थिए । त्यसपछि हुसेन सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका थिए । प्रहरीले उनको उद्धारपछि अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




