बारा । बाराको कलैया उपमहानगरपालिका ४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
सोमबार राति करिब १२:३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अनियन्त्रित भई सडकछेउमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका ८ इमलीप्रती निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए । उनलाई तत्काल प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिएको थियो ।
उपचारकै क्रममा राति १२:५० बजे उनको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिए । दुर्घटनामा सोही स्थानका ५० वर्षीय देवनारायण चौधरी पनि घाइते भएका छन् । उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका ९ सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने घरको एकातर्फको पर्खाल भत्किएको प्रहरीले जनाएको छ । दुर्घटनापछि सडक यातायात भने अवरुद्ध नभएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






